बाढीको कारण खोलामा फसेका ४ जना मानिसलाई सकुशल उद्धार

समाचारदाता : गोपाल पौडेल

पाँचथर, २०८२ भदौ १२ गते ।

धराने मिडिया : पाँचथर जिल्लाको याङवरक गाउँपालिका-२ स्थित रहेको ईवा खोलामा अचानक आएको बाढीको कारण खोलाको विच भागमा फसेका ४ जना मानिसलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

भदौ १० गते साँझ पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमानामा रहेको ईवा खोलामा पाहा मार्न गएका स्थानिय फिदिम नगरपालिका-४ का १९ बर्षीय प्रतिक तामाङ, २३ बर्षीय झल्ला सम्बाहाम्फे, २८ बर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ बर्षीय सन्तोष पन्धाक अचानक आएको बाढी कारण खोलाको विच भागमा रहेको बगरमा फसेका थिए ।

घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परीरहेको र खोलामा भेल बाढी आईरहेको कारण उद्धार गर्न कठिनाई भएकोले उनिहरुलाई राती खानको लागी चाउचाउ र लाईटरलाई ढुंगामा पोको पारेर फाली उपलव्ध गराएका थिए ।

रातभरी ठुलो ढुंगाको ओतमा आगो तापी बसेका उनिहरुलाई ११ गते बिहान खोलामा बाँसको पुल बनाई स्थानियको सहयोगमा सकुशल उद्दार गरिएको थियो ।