धरान एकता समाजद्वारा काठमाडौंमा भव्य तीज कार्यक्रम सम्पन्न
समाचारदाता : गोपाल पौडेल

काठमाडौं, २०८२ भदौ १२ गते ।
धराने मिडिया : धरान एकता समाजले धुमबाराहीस्थित स्मार्ट दरबारमा काठमाडौंमा बसोबास गर्ने धराने चेलीहरूलाई लक्षित गरी भव्य तीज दर कार्यक्रम सम्पन्न गरेको छ।
समाजका संरक्षक सन्दीप श्रेष्ठ र अध्यक्ष सन्नी श्रेष्ठको नेतृत्वमा आयोजित कार्यक्रममा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा कांग्रेस नेतृ तथा मंगलादेवी फाउन्डेशनकी अध्यक्ष श्रीजना श्रेष्ठ सिंह, पूर्व वन तथा वातावरणमन्त्री एवं सांसद संखर भण्डारी, पूर्व युवा तथा खेलकुदमन्त्री एवं सांसद दिगबहादुर लिम्बु, पूर्व बागमती प्रदेश महिला मन्त्री तथा काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गी, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, पूर्व एआईजीपी सन्दीप भण्डारी, पूर्व प्रहरी अधिकारी शिवजी श्रेष्ठ, टोनी, डेभिडलगायत समाजसेवी र व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो।
स्वागत मन्तव्यमा विनोद तखाछेले गत वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो कार्यक्रम काठमाडौंमा बस्ने धराने महिलाहरूबीच एकता र सम्मानको प्रतीक बनेको बताए।
महासचिव साजन विकले धरान एकता समाजले २०७२ सालको भूकम्प, कोरोना महामारी, बाढीपहिरोलगायत विपद्को समयमा सहयोग पुर्याउँदै आएको जानकारी दिए।
संरक्षक सन्दीप श्रेष्ठले सबै अतिथिहरू र सहयोगीहरूप्रति आभार व्यक्त गर्दै संस्थालाई अझ सक्रिय बनाउने प्रतिबद्धता जनाए। अध्यक्ष सन्नी श्रेष्ठले ( हाल इजरायलमा रहनु भएका ) तीजको शुभकामना दिँदै धरान र काठमाडौंमा बस्ने धरानेबीच सधैं एकता र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रम सञ्चालन पिके क्याम्पस स्ववियुकी उपाध्यक्ष चन्द्रकला तामाङले गरिन्। सांगीतिक कार्यक्रममा गायक सपन श्रेष्ठ, DNX, सुमित खड्का, प्रदेश राईले प्रस्तुति दिए। अन्त्यमा संरक्षक सन्दीप श्रेष्ठले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको घोषणा गरे।