धरानमा चलचित्र "कोशेढुङ्गा" हेरेपछि दर्शक भावुक

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १५ गते ।

धराने मिडिया : धरानमा चलचित्र "कोशेढुङ्गा" दर्शकलाई भावुक बनाएको छ। आईतावार धरान-८ स्थित फ्रेन्डस सिनेमामा चलचित्र "कोशेढुङ्गा" हेरेर दर्शकहरु आँखा भरि आँसु लिएर बाहिर निस्किदै थिए।

गाउँमा रोजगारीको समस्याका कारण बैदेशीक रोजगारीमा पुग्दा भोग्नुपरेको दुख, कष्टलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको चलचित्र ‘कोशेढुङ्गा’ले दर्शकको मन छुन सफल भएको हो।

नेपालमा अधिकांश घरधुरीबाट युवाहरु बिदेशमा रहेको समयमा कोशेढुङ्गाले सोहि बिषयवस्तुलाई उठान गरेकाले दर्शकको मन जितेको बुझ्न सकिन्छ ।

भदौ १२ गतेबाट प्रदर्शनमा आएको ‘कोशेढुङ्गा’ हेरेका अधिकांश दर्शकबाट सकारात्मक प्रतिक्रिया दिएका थिए।

सरोज पौडेलको निर्देशन रहेको फिल्म नरदेवी फिल्मसको प्रस्तुति र सारङ्गी फिल्मस्को सहकार्यमा बनेको हो । फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् ।