धरान–१५ स्थित हिबिस्कस इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक उपप्राचार्य बिजय सिं थेबे राष्ट्रिय अवार्डद्वारा सम्मानित
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १६ गते ।
धराने मिडिया : शिक्षालय राष्ट्रिय मासिकको आयोजनामा शुक्रबार संघीय राजधानी काठमाडौको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा भव्य रूपमा सार्क एजुकेशन कन्क्लेभ तथा अवार्ड समारोह सम्पन्न भयो।
नेपाल, भारत र बंगलादेशका शैक्षिक संस्थागत तथा व्यक्तिगत सहभागिता रहेको यस कार्यक्रममा शिक्षाको गुणस्तर र नवीनताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, शिक्षाविद् प्रा. डा. विद्यनाथ कोइराला, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम केसीलगायतका गण्यमान्य व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।
उनीहरूले विभिन्न शैक्षिक संस्था, शिक्षक तथा शिक्षा पत्रकारलाई प्रतिष्ठित अवार्ड प्रदान गरेका थिए।
त्यसै क्रममा धरान–१५ स्थित हिबिस्कस इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक उपप्राचार्य बिजय सिं थेबे प्रतिष्ठित सार्क डाइनामिक युथ प्रिन्सिपल अवार्ड–२०२५ बाट सम्मानित भए।
पुर्ब प्रधानमन्त्री झलनाथ खनालले खदा र सम्मान पत्रले थेबेलाई सम्मान गरेका हुन। यो अवार्डले दक्षिण एशियाली क्षेत्रमा शिक्षाको नवीन र समावेशी दृष्टिकोणलाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको छ, जसमा थेबेले देखाएको नेतृत्व र योगदानको उच्च मूल्याङ्कन गरिएको हो।
सम्मानित भएपछि आफ्नो अनुभव व्यक्त गर्दै उपप्राचार्य थेबेले भने, “सार्क डाइनामिक युथ प्रिन्सिपल अवार्ड–२०२५ प्राप्त गर्नु मेरो लागि ठूलो सम्मान र जिम्मेवारी दुवै हो।
यो पुरस्कारले भविष्यको पुस्ता निर्माण गर्न जीवन समर्पण गर्ने शिक्षकहरूको सामूहिक प्रयासलाई प्रतिविम्बित गर्छ। यस सम्मानले मलाई अझ नवीन र समावेशी शिक्षातर्फ लाग्न प्रेरित गरेको छ, जसले मेरो समुदाय मात्र होइन, सम्पूर्ण दक्षिण एशियाली क्षेत्रलाई सशक्त बनाउन सक्छ। यो पुरस्कार मेरो लागि धेरै महत्वपूर्ण छ किनभने यसमा मैले काम गरेको धेरै व्यक्तिहरूका सपना र मेहनतको प्रतिच्छाया देखिन्छ। यसले मलाई सम्झाउँछ कि शिक्षा जीवन परिवर्तन गर्ने शक्ति हो, र म जहाँ सके योगदान पुर्याइरहन चाहन्छु।”
यसअघि पनि उपप्राचार्य थेबेले अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेका छन्।
ब्रिटिस काउन्सिल आईएसए अवार्ड (२०१७–२०२०), बेस्ट ग्लोबल प्रिन्सिपल अवार्ड (२०२२) र डा. ए.पी.जे. अब्दुल कलाम इनोभेटिभ प्रिन्सिपल अवार्ड (२०२३) बाट उनी सम्मानित भैसकेका छन।