कर्मचारीको तह वृद्धि निर्णय गर्न मात्र बसेको धरानको कार्यपालिका बैठक
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १९ गते ।
धराने मिडिया : बुधवार बसेको आकस्मिकरुपमा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २३ जना कर्मचारीहरुको तहबृद्धि गर्ने निर्णय मात्रै गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बजेट पारित गर्न नगर सभा नबोलाई रहेको बेला बुधवार कार्यपालिकाको आकस्मिक बैठक बसेर २३ जना कर्मचारीहरुको तहबृद्धि भएको एउटा मात्र अजेण्डा करिब ५ मिनेटभित्रै बैठक सकिएको थियो ।
बैठकमा स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन २०८० को दफा २७ र सोही ऐनको दफा ८ को उपदफा १६ बमोजिम तहवृद्धि गर्ने प्रस्तावलाई अनुमोदन गरिएको हो।
बढुवा सिफारीस हुनेमा १७ जना स्वास्थ्य सेवाका कर्मचारी र अन्य ६ जना कर्मचारीहरू रहेका छन।
असार १० गते भित्र नगर सभाले बजेट पास गर्नुपर्ने कानुनी व्यवस्था छ । आर्थिक वर्षको दोस्रो महिना लाग्दा पनि नगर प्रमुख हर्क राज राई(साम्पाङ)ले नगर सभा गर्न सकेका छैनन् ।