धरानको नयाँ स्मार्ट बसपार्क किन निजी क्षेत्रलाई ठेक्कामा ?
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २३ गते ।
धराने मिडिया : भानुचोकमा रहेको साँघुरो र अस्तव्यस्त बसपार्कलाई हस्तान्तरण गर्ने उद्देश्यसहित धरान ८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माण भएको नयाँ स्मार्ट बसपार्क निजी क्षेत्रलाई ठेक्कामा दिएर सञ्चालन गरिने भएको छ ।
भँदौ २२ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा पारित भएर नयाँ स्मार्ट बसपार्क निजी क्षेत्रलाई ठेक्कामा दिएर सञ्चालन गर्ने लागेको हो ।
विभिन्न समस्या र मुद्दाहरु पछि पार्दै धरानको नयाँ स्मार्ट बसपार्क संचालनमा आउन लागेको हो।
मेयर हर्कराज राई (साम्पाङ) संयोजक रहेको समितिले निजी क्षेत्रलाई ठेक्कामा सञ्चालनको जिम्मा दिदा उपमहानगरपालिकालाई बसपार्कबाट बार्षिकरुपमा कम्तीमा १ करोड ४० लाख आम्दानी हुने अनुमान गरिएको बताएका छन।
समितिका अनुसार कुल आय अनुमान २ करोड ३४ लाख हुने र खर्च खटाएर बाँकी १ करोड ४० लाख हाराहारीमा बचत हुनसक्ने अनुमान गरिएको छ ।
बसपार्क स्थानान्तरण गर्ने योजनासहित २०५९ मा तत्कालीन धरान नगरपालिकाले नेपाल सरकारलाई तीनकुने सुन्दर बस्ती विकास आयोजनाको प्रस्ताव पठाएको थियो। आयोजनाको बिचमा बहुउद्देश्यीय क्षेत्र २७ कट्ठा छुट्टाइएको थियो। त्यहाँ बसपार्क बनाउने योजना राखिएको थियो। उक्त जग्गा बसपार्कको लागि स्थानीय जग्गाधनीहरूले नै निःशुल्क उपलब्ध गराएका थिए।