महोत्सवको उद्घाटनमा धरानलाई खेलकुदको शहर घोषणा
समाचारदाता : गोपाल पौडेल
२०८२ मंसिर २६ गते ।
धराने मिडिया : धरान खेलकुद मञ्चको आयोजनामा पहिलोपटक १५ दिने धरान खेलकुद महोत्सव २०८२ भव्य रूपमा सुरु भएको छ ।
मङ्सिर २५ देखि पुस १० गतेसम्म धरान रङ्गशालाकाे तल्लो मैदानमा सञ्चालन हुने १५ दिने महोत्सव धरानलाई खेलकुदको शहरका रूपमा चिनाउने पहिलो प्रयास भएको मञ्चका अध्यक्ष किशोर राईले बताए ।
फुटबलका लेजेन्ड राजु काजी शाक्यले प्रमुख अतिथिका रूपमा महोत्सवको औपचारिक उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा धरान खेलकुद मञ्चले शारीरिक सुगठनका प्रखर व्यक्तित्व स्व. कबिर राजभगतलाई मरणोपरान्त सम्मान गरेको थियो।
धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै खेलाडी जन्मिएको उल्लेख गर्दै धरानलाई खेलकुदको शहरका रूपमा औपचारिक मान्यता दिलाउन सबै तहतप्काको सहकार्य आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा खेलकुद मञ्चका सितोरिया कराते, उसु, तेक्वान्दो खेलाडीहरुले आकर्षक खेल प्रदर्शन गरेका थिए ।























