पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको समस्याहरुलाई हामी छलफल गर्छौ - शिक्षा मन्त्री पोखरेल
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख ०९ गते।
धराने मिडिया : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले मंगलबार धरान ८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको निरीक्षण भ्रमण गरेका छन् ।
क्याम्पसको शैक्षिक तथा भौतिक अवस्था बुझ्न पुगेका मन्त्री पोखरेलसमक्ष क्याम्पस प्रमुख इन्जिनियर काजीराम कार्कीले क्याम्पसको वर्तमान अवस्था र भोगिरहेका विभिन्न समस्याबारे विस्तृत जानकारी गराएका थिए ।
प्रमुख कार्कीले मन्त्री पोख्रेललाई क्याम्पसका भौतिक संरचना जीर्ण बन्दै गएको, ल्याबमा आधुनिक उपकरण अभाव, विद्यार्थी सुविधा विस्तारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए । उनले क्याम्पसको विद्यमान जटिलता, जनशक्ति अभाव र जीर्ण भौतिक संरचनाबारे जानकारी गराउँदै सुधारका लागि मन्त्रीलाई ज्ञापन–पत्र समेत बुझाएका थिए ।

त्यस्तै प्रमुख कार्कीले क्याम्पस क्षेत्रमा बाँदर र हात्तीको आतङ्कबाट सुरक्षा र छात्रावास क्षेत्रको सुरक्षा घेराबार लागि क्याम्पस वरिपरि कम्पाउन्ड वाल निर्माण आवश्यक बारे बताएका थिए । उनले ४४ वर्ष पुराना भवनमा अध्ययन अध्यापन गराउन बाध्य भएको र क्याम्पसमा ल्यावको भवन तथा उपकरण पनि पुराना तथा जीर्ण भएको बताएका थिए।
प्रमुख कार्कीको भनाइपछि मन्त्री पोखरेलले क्याम्पसको समस्याहरुलाई केन्द्रमा छलफल गर्ने बाचा सहित बिदा लिएका थिए।
पूर्वाञ्चल क्याम्पस जुन पहिले पूर्वी क्षेत्रीय क्याम्पसको रूपमा चिनिन्थ्यो, त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँचवटा आंगिक इन्जिनियरिङ क्याम्पसहरू मध्ये एक हो।

पूर्वाञ्चल क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थान को एक मात्र आंगिक क्याम्पस हो, जसले नेपालको सन्दर्भमा कृषि इन्जिनियरिङ प्रदान गर्दछ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक र स्नातकोत्तर तहमा यो कार्यक्रम सञ्चालन गर्ने एक मात्र क्याम्पस हो।
यो क्याम्पसको स्थापना वि.सं. २०३४ साल (सन् 1977 AD) मा भएको हो। यो क्याम्पस सुरुमा पूर्वी क्षेत्रीय क्याम्पसको नामले चिनिन्थ्यो। पछि यसको नाम परिवर्तन गरी “पूर्वाञ्चल क्याम्पस” राखिएको हो।






















