धनबहादुर राईलाई धरानको मेयरको उम्मेदवारका घोषणापछि पार्टिमा चर्कियो विवाद, एक केन्द्रिय सद्स्य निलम्बन
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १४ गते।
धराने मिडिया : श्रम संस्कृति पार्टीभित्र आन्तरिक विवाद चर्किएको छ । आगामी धरान उपमहानगरपालिकाको मेयर पदका लागि धनबहादुर राईलाई उम्मेदवार घोषणा गरेपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको हो । विवादकै बीच पार्टीका एक केन्द्रीय सदस्यलाई निलम्बन गरिएको जनाइएको छ ।
पार्टी अध्यक्ष तथा धरानका पूर्व मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई आगामी मेयर उम्मेदवारका रूपमा अघि सारेपछि पार्टीभित्र तरंग सिर्जना भएको हो । धरान–४ का वडाध्यक्ष समेत रहेका राई पछिल्लो समय साम्पाङको अभियानमा सक्रिय रहँदै आएका थिए ।

उम्मेदवारी घोषणापछि पार्टीका केही नेताहरूले निर्णय प्रक्रिया एकलौटी भएको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्र छलफल नै नगरी उम्मेदवार घोषणा गरिएको आरोप लगाउँदै नेताहरूबीच विवाद बढेको स्रोतले जनाएको छ ।
विवादकै क्रममा पार्टीका एक केन्द्रीय सदस्यले सामाजिक सञ्जालमार्फत नेतृत्वको आलोचना गरेपछि उनलाई निलम्बन गरिएको बताइएको छ । पार्टी अनुशासन विपरीत गतिविधि गरेको आरोपमा निलम्बन गरिएको जनाइए पनि यसले पार्टीभित्रको असन्तुष्टि थप सतहमा ल्याएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
मेयर पदका आकांक्षीका रूपमा व्यवसायी निना चन्द्र राई, दिनेश बान्तवा तथा प्रेम श्रेष्ठ लगायतका नाम चर्चामा रहेका बेला धनबहादुर राईको एकाएक उम्मेदवारी घोषणा भएपछि असन्तुष्टि बढेको बताइन्छ ।





















