डिपोट र धरान मोडेल स्कुल फाइनलमा
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ २५ गते।
धराने मिडिया : विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता 'ब्रेन ब्याटल धरान' को पहिलो सिजनको तेस्रो चौंथो शृङ्खलाको विजेता हुँदै डिपोट हाइयर सेकेन्डरी स्कुल र धरान मोडेल स्कुल फाइनलमा प्रवेश गरेका छन् ।
धरान-८ स्थित शहीद स्मृति माविको हलमा आइतबार बिहान ९ बजेदेखि आयोजित प्रतियोगिताको तेस्रो शृङ्खलामा चार विद्यालयलाई उछिन्दै धरान मोडेल स्कुलले ८० अङ्क प्राप्त गर्दै फाइनलमा प्रवेश गर्यो । ७० र ३० अङ्क प्राप्त गर्दै क्रमशः जुनिअर पायोनिअर स्कुल र सुनाखरी एकेडेमी दोस्रो र तेस्रो बने ।
चौंथो शृङ्खलामा ८० अङ्क प्राप्त गर्दै समूह विजेता बनेको डिपोट स्कुल पनि फाइनलमा प्रवेश गरेको छ । ७० र ६५ अङ्क प्राप्त गरेका हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल र धरान स्कलर्स एकेडेमी क्रमशः दोस्रो र तेस्रो बने ।
ब्रदर्श अनलाइन मिडिया हबद्वारा आयोजित ब्रेन ब्याटल धरान सिजन-१ को फाइनल प्रतिस्पर्धामा डिपोट र धरान मोडलसँगै पहिलो शृङ्खलाको विजेता सिद्धार्थ शिशु सदन र दोस्रो शृङ्खला विजेता एभरेष्ट चिल्ड्रेन होमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
फाइनल प्रतिस्पर्धा आगामी जेठ ३० गते शनिबार बिहान ९ बजेदेखि आयोजना हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद २० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
छायाङ्कनसहितको प्रतियोगिताको प्रसारण बिटिभीनेपालको अफिसियल युट्युब र फेसबुक च्यानलबाट प्रसारण गरिने छ ।




















