इटहरीमा २ युवा सहित आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २३ गते ।

धराने मिडिया : सोमबार जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएसँगै देशभर प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ ।

ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो ।

सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका थिए।

संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या बढेको थियो। 

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो ।

भ्रष्टाचारका विरुद्ध 'जेन–जी'हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भएको थियो।

Crowd

हाल जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकामा चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेको छ।

उत्तर तर्फ हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्व तर्फ मिलनचोकदेखि जुट विकासभित्र, दक्षिण तर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयदेखि यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोकसम्म र पश्चिम: कलंकी मोडदेखि जनता बस्तीभित्रसम्म कर्फ्यु जारी गरेको हो।

जेनजी आन्दोलन आक्रामक बनेपछि प्रशासनले सोमबार दिनको साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाएको हो।

इटहरी उपमहानगरभित्र प्रवेश गरी आन्दोलनकारीहरूले आक्रमण र आगजनी सुरु गरेपछि कर्मचारी र जनप्रतिनिधि स्थल छाडेर भाग्न बाध्य भएका थिए ।

Capture1 1